काठमाडौं । दार्चुलामा भएको सवारी जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का ४५ वर्षीय दिलिप बिष्ट, ४० वर्षीय मिना लेखक, शैल्यशिखर नगरपालिका–५ लेकका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा, ५० वर्षीय बिरेन्द्र बोहरा, भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसीम रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ८ वर्षीय सन्दिप रावल, जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र भारतीय नागरिक १७ वर्षीय सोहिन शाह घाइते भएका छन् ।
टाउको चोट लागेका जिप चालक जोशीको अवस्था गम्भीर छ । अन्य मध्यम घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते प्रकाश रावल उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ बकजेबलामा दुर्घटना भएको हो ।
जिपमा १३ यात्रु सवार थिए । मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो ।