Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ  दिएर मनाइँदै

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ  दिएर मनाइँदै

  • बिहिवार, कार्तिक २२ २०८१

  • 567
    SHARES

  • छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ  दिएर मनाइँदै
    काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।
     
    छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरूमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।
     
    काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।
     
    जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरू गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिँगारिएका छन् ।
     
    यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ । कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।
     
    अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरू पनि छठ पूजास्थल जाने कार्यक्रम छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ ।
     
    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख कष्ट हट्ने जनविश्वास छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश दिएका छन् ।
     


    बिहिवार, कार्तिक २२ २०८१०९:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij