काठमाडौँ । वर्षातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।
सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे बेसीको बिच सडक खण्डमा लेदो झरेर थुप्रिएकाले सडक एकतर्फी बनेको काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
सोमबार साँझसम्म दुईतर्फी सञ्चालनमा आउने उहाँको भनाइ छ । गत असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीका कारण यस सडक खण्ड तहसनहस बनेको थियो ।
चाडपर्वको मुखैमा तहसनहस भएको यो सडक खण्ड तत्काल स्थायी रूपमा निर्माण गर्न नसकिने भएपछि अस्थायी रूपमा पुनः निर्माण गरी सञ्चालनमा आएको थियो ।