काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी आयोजनामा भएको क्षतिबारे अध्ययन गरिने जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको केयुकेएलले जनाएको छ ।
विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयूकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो ।
प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । ’पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानी पोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,’ उहाँले भन्नुभयो, ’धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।’
उहाँका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरेका छन् ।