Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालीहरुको महान पर्व बडा दसैँको आज मुख्य दिन, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर विजया दशमी मनाईयो (खासखबर)

नेपालीहरुको महान पर्व बडा दसैँको आज मुख्य दिन, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर विजया दशमी मनाईयो (खासखबर)

  • शनिवार, आश्विन २६ २०८१

  • 679
    SHARES

  • नेपालीहरुको महान पर्व बडा दसैँको आज मुख्य दिन, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर विजया दशमी मनाईयो (खासखबर)

    काठमाडौं। हिन्दु नेपालीहरुको महान पर्व बडा दसैँको आज मुख्य दिन, आफूभन्दा ठुलाबडा तथा मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाइएको छ।

    घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दसैँको टिका लगाएर मनाइएको छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ।

    प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ।

    विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ।

    नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै बिजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमश सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ।

    उमेर पुगेका पाका हरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन्। घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ।

    आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रिकृष्ण अधिकारीले बताउनुभयो।

    आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। आज कै दिन भगवान् रामले रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ ।

    आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।

    प्राचीन कालमा राजाहरू दसैँका दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ–ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ।

    विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो,शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव सुरु भएको हो।

    दसैँ पर्वले दश प्रकारका पापहरू– काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङकार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ। वैदिक सनातन धर्मानुयायीहरूले दसैँको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन्।

    आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो। दशहराको अर्थ हो दशानन रावणको पराजय। आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।

    यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ। टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ।

    ज्योतिष सुरेशचन्द्र रिजालका अनुसार दसैँको मुख्य उद्देश्य भनेको मान्यजनहरुबाट आशिर्वाद लिनु हो। यो पर्वले घरपरिवारलाई जोड्ने एउटा महत्वपूर्ण कार्य गर्ने उहाँ बताउनुहुन्छ।

    आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुने गर्दछन्। यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकौं।सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका आयामहरू थपिंदै जाउन्।

    टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाँई सबैका अनुहारमा हर्षका धागाहरु बसुन्, विजयादशमीको सबैलाई शुभकामना ।।


    शनिवार, आश्विन २६ २०८१०८:२६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij