Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बडादसैँको आठौं दिन आज महाअष्टमी र महानवमी पर्व एकैदिन, शक्ति आर्जन गर्ने पर्वका रुपमा लिइने, शक्तिको आर्जन गर्नेकुरामा विश्वास गर्नुपर्ने भनाई (खासखबर)

बडादसैँको आठौं दिन आज महाअष्टमी र महानवमी पर्व एकैदिन, शक्ति आर्जन गर्ने पर्वका रुपमा लिइने, शक्तिको आर्जन गर्नेकुरामा विश्वास गर्नुपर्ने भनाई (खासखबर)

  • शुक्रवार, आश्विन २५ २०८१

  • 489
    SHARES

  • बडादसैँको आठौं दिन आज महाअष्टमी र महानवमी पर्व एकैदिन, शक्ति आर्जन गर्ने पर्वका रुपमा लिइने, शक्तिको आर्जन गर्नेकुरामा विश्वास गर्नुपर्ने भनाई (खासखबर)

    काठमाडौं। बडादसैँको आठौं दिन आज, आज महाअष्टमी र महानवमी पर्व एकैदिन मनाइएको छ । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व तिथि घटबढका कारण आज एकै दिन परेकोले विशेष पूजा गरी मनाईएको छ ।

    आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिएको छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। आजको दिन शास्त्रसम्मत रुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ।

    दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको छ।

    यसपाली महाअष्टमी र नवमी एकैदिन परेकाले संकल्प गर्दा नवमी दशमीविहित कर्म अहमः करिश्चय भनेर तन्त्रेर एउटा शब्द राखिदिने हो भने जुन कर्म जतिबेलापनि गर्न सकिने नेपाल पंचाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले बताउनुभयो।

    विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

    सोहीअनुसार आज उपत्यका भित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, दक्षिणकाली, बगलामुखीलगायत देशैभरका शक्तिपिठहरुमा पूजा अर्चनासहित वलि दिइएको छ भने आजैका दिन राति कालरात्रिका रूपमा पशुबलीको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ ।

    आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पशुबली दिनुपर्ने धर्मशास्त्रविदहरुको भनाइ छ । यसदिन राज्य सञ्चालकले त झन् प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन पनि छ । यो पर्व शक्तिको पर्व भएकाले जस्तो अवस्थामा जहाँ भएपनि जसरी सकिन्छ त्यो शक्तिको आर्जन गर्नेकुरामा विश्वास गर्नुपर्ने ढुंगेल बताउनुहुन्छ ।

    देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली अष्टमीका दिन उत्पन्न भएको भनी पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ ।

    यी दिनहरूमा मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गरी पूजा गर्दछन् । यसै दिन दसैँघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोका बलि अर्पण गरिन्छ ।

    आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजा गर्ने गरिन्छ।आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि चढाई पूजा गर्ने समेत चलन छ।

    आजै महानवमी पर्व पनि परेको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्छ ।

    तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ । दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइदै छ ।

     


    शुक्रवार, आश्विन २५ २०८१०८:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij