काठमाडौं । सरकारले विमान परिचारक–परिचारिका (क्याबिन क्रु) को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्याउन तयार भएको छ ।
शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिनुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रुहरुले आफूहरुमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाइ राखेकामा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताउनुभयो ।
हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष छ, आफूले निगम व्यवस्थापनलाई त्यो व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताउनुभयो ।
क्याबिन क्रुको उमेर ५ वर्ष थप्दा उनीहरुको अनुभवबाट निगमले धेरै फाइदा लिन सक्ने मन्त्री पाण्डेले बताउनुभयो ।