काठमाडौं । सरकारले नेपालमा करिब ७० लाख घर–परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या समेत तीन करोड नाघ्ने अनुमान छ ।
राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या तीन करोड एक लाख ४२ हजार २६६ रहेको छ ।
जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष ०७६–७७ बाटै सुरु गरिएको थियो ।
जनगणनाका दौरान देशभर ४३ हजार गणक घर–घरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । उनीहरुको समन्वयका लागि नौ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको महानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
जनगणनाको कामलाई सहजीकरण र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्ने भएका छन् ।