काठमाडौं। मनसुनी वायुको प्रभाव देशभर अझै पनि कायमै रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज देशैभर आंशिक देखि साधारणतया बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।