काठमाडौं । नेपाल दैविक विपत्तिका लागि ईपिसेन्टर नै बनिसकेको छ भन्दा अत्युक्ति नहोला । हुन त प्रकृतिसँग मानिसले पैठोजोरी खेल्दा पनि विजय सम्भव छैन । बेलाबेला प्रकृतिमाथि हाबी भइरहने मानव जगतलाई जब प्रकृति रिसाउँछ कसैको केही लाग्दैन ।
पछिल्लो समय प्रविधिले मौसममा आउने अदलबदलबारे प्रक्षेपण गर्ने गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने मुलुकको सरकार र नागरिकले नै कानमा तेल हालेर बसेपछि कसैको केही लाग्दैन । कतिपय नागरिकका विभिन्न बाध्यताहरु हुन सक्छन्, यात्रा गर्नैपर्ने । तर, मौसमको ख्याल नगरी यात्रा गर्नाले निम्तने जोखिमबारे यो जत्तिको उदाहरण केही हुन सक्दैन ।
सबैभन्दा ठूलो ज्यान हो, आफू भएन भने संसारको के मतलब । यो कुरा आम नागरिकलाई बुझाउन निकै कठिन भइरहेको छ । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले उद्दार र राहतमा कुनै कसर बाँकी नरहेको दाबी गर्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाले औसतभन्दा बढी पानी पर्ने भन्दै केही दिनअघि बाट अलर्ट गराउँदै आएको छ । मौसमका विज्ञहरुले करिब जेठ महिनामै नेपालमा बंगालको खाडीबाट मनसुन सक्रिय भएर भित्रिने र भारी वर्षा हुने बताइसकेका थिए । राज्यले यसमा गम्भीरता नअपनाउँदा र स्वयं नागरिक सचेत नहुँदा पनि यसले विकराल रुप लिएको मान्न सकिन्छ ।
विपत्ति बाजा बजाएर आउँदैन तर केही संकेतहरु भने दिइरहेको हुन्छ । भूकम्पको तुलनामा बाढीपहिरोबाट सुरक्षित हुन सकिन्छ । मानवीय लापरवाहीका कारण पनि धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । वातावरण एवं प्रकोपविद् डा. दीपकविक्रम थापा क्षेत्रीले सरकार विपद्को विषयमा गम्भीर बन्न नसकेको बताउनुभयो ।
धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ । सामान्यतया यतिधेरै यात्रुहरु पुरिएको हुनसक्ने अनुमान थिएन तर, नियति त्यो देखियो । मौसम विभागद्वारा कम्तिमा बिहीबार रातिदेखि ३ दिनसम्म रात्रीकालिन सेवा बन्द गर्न आह्वान थियो । तैपनि गाडी गुडेको पाइएको छ ।
प्रकृतिसँगको जुहारी नेपालीका लागि महंगो पर्दै गएको छ । विपत्तमा आत्तिने अरुबेला वेवास्ता गर्ने नेपाली पनले वर्षेनी यस्तै नियति भोगिरहनु परेको छ ।