काठमाडौं । अविरल वर्षाका कारण असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपद्मा परेर अहिलेसम्म १४८ जनाको मृत्यु भएको छ ।
विपद्मा परेर बागमती प्रदेशमा ८६, काठमाडौं उपत्यकामा मात्रै ४३, कोशी प्रदेशमा १६ र मधेश प्रदेशमा ३ गरेर १४८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
प्रहरीका अनुसार विपद्मा परेर बागमती प्रदेशमा ६८, काठमाडौं उपत्यकामा १८, मधेश प्रदेशमा ९, कोशीमा ६ गरेर १०१ जना घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा २ हजार १५५, गण्डकी प्रदेशमा ९९७, बागमतीमा ३८४, कोशीमा ९० र मधेशमा ३५ गरेर ३ हजार ६६१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी ५५ जना बेपत्ता रहेको र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको छ ।