काठमाडौं । काठमाडौं भित्रिने सडक झ्याप्लेखोलाको पहिरोका कारण रोकिएपछि सुरुङ मार्गबाट यात्रुलाई काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौं प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई हिजो शनिबार दिनभर र आज पनि सुरुङ मार्गको प्रयोग गरी काठमाडौं ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालका अनुसार बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको हो ।
उहाँका अनुसार आज बिहानदेखि नै अत्यावश्यक ढुवानीका सवारीसाधनलाई खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको छ । तर, यात्रुवाहक सवारी भने पठाइएको छैन ।
लगातारको झरीमा पनि सुरुङमार्ग भने राम्रो रहेकोले अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई काठमाडौं पठाउन सकिएको उहाँले जानकारी दिनुभयो ।