काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ।
यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्न सहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ।
शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन। खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो।
सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो। उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ।
उनीहरूलाई धुलिखेल र भकुण्डे ल्याइनेछ। लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन्। करिब दुई सय स्थानीय शरणमा बसेका छन्। रोशीमा ११ जनाको मृत्यु भएको छ।