काठमाडौं । देशभर भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ। देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ। अत्यधिक वर्षाका कारण कतिपय स्थानमा चेतावनीको तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले २० जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ।मधेश प्रदेशका सबै जिल्लासहित उदयपुर,सिन्धुली,मकवानपुर, चितवन, नवलपरासी, पाल्पा, रुपन्देही,कपिलवस्तु, तनहुँ,स्याङ्जा,पर्वत र आसपासका जिल्लामा जोखिम छ।
यस्तै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने बताईएको छ ।गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझदेखि अधिकांश स्थानहरूमा ठूलो पानी परिरहेकाले सचेत रहन आग्रह गरिरहेको छ।
अविरल बर्षाले देशभरको अवस्था कस्तो छ? क्षति वा जोखिम न्युनिकरणका लागि सरकारले के कस्तो तयारी गरिरहेको छ? नेपाली रेडियो नेटवर्कको प्रश्नमा विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अपनाउनु पर्ने सावधानी र सवै तयारि चुस्तदुरुस्त अवस्थामा रहेको जानकारी दिनुभएको छ ।
जोखिम कम गर्न तत्काल प्रतिकार्यका लागि सवै निकाय तयारी अवस्थामा रहेको जानकारी भूसालले दिनुभयो।दशैंको वेला छ लाखौं यात्रु ओहोरदोहोर गर्ने राजमार्गहरुको अवस्था वेहाल छ। ठाँउठाँउमा पहिरो गएको छ सडक अवरुद्ध छ । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले आज र भोलि दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध पनि गरेको छ ।
मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भूसालले पानी पर्ने क्रम आइतबारसम्म नै रहने संभावना रहेकाले अत्यावश्यकबाहेक घरदेखि टाढाको यात्रा नगर्न आग्रह गर्नुहुन्छ ।
अवरुद्ध सडक खोल्ने सरकारको तयारीबारे डा भूसाल भन्नुुहुन्छ, पहिरो पन्छाउने साधन तयारि अवस्थामा रहेका छन्, तत्काल खुलाउन तयारी अवस्थामा छौ ।नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका सह प्रध्यापक तथा जलवायु विज्ञ डाक्टर मदन सिग्देल मनसुन ढिला सुरु हुने र ढिला अन्त्य हुने श्रृङ्खला अन्तर्गत अहिलेको बर्षा भएको बताउनुहुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ ।
प्रतिकूल मौसमका कारण हवाई उडान पनि प्रभावित बनेको छ । त्यसैले जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सतर्क अवस्थामा रहनुहोला ।