काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उहाँले आज नै पदबाहाली गर्नुभएको छ ।
उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनइए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिनुभएको थियो ।
शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिनुभएको थियो ।
यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२ औं तहका लागि बढुवा भए पनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाकोभन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि हुनुहुन्छ ।
यसअघि ऊर्जामन्त्री पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिनुभएको थियो ।