काठमाडौँ । वरिष्ठ कलाकारद्वय नारायण रायमाझी र दुर्गा रायमाझीलाई मातृ शोक परेको छ ।
उहाँहरूकी ममतामयी माता कृष्णकुमारी रायमाझीको गएराती काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो। उहाँको आज बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। उहाँको क्रियाकर्म पनि पशुपतिमै सुरु गरिएको छ।
स्वर्गीय रायमाझीका श्रीमान सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी रहेका छन् ।
तीमध्ये नारायण र दुर्गा लोक तथा दोहोरी गीतमा चर्चित हुनुहुन्छ भने अर्का जीवन रायमाझी शिक्षण पेशामा हुनुहुन्छ। उहाहरुका जेठा छोरा लक्ष्मण रायमाझीको भने दुई दशक अगाडि नै निधन भएको हो। उहाँले लेख्नुभएका र भाइ नारायण रायमाझीले गाउनुभएका 'नमुछे आमा दहीमा टिका', 'कार्गील' लगायतका गीतहरू अहिले पनि लोकप्रिय छन्।
त्यसैगरी महिला छोरा नारायणका गोरखा पल्टन, लाहुरेको जिन्दगी, परदेशी, प्रदेशी २ लगायतका चलचित्रसँगै ‘मलाई सम्झी रेलिमै देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत लोक गीतहरू चर्चित छन्।
कान्छा छोरा दुर्गा रायमाझी लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष हुनुहुन्छ भने 'बटौलीमा निम्तो छ मलाई', अचेल गाउँमा यस्तै छ सान्नानी, 'फर्क दाई फर्क' लगायतका गीतहरू लोकप्रिय छन् ।
लामो समय रेडियो नेपालमा समेत कार्यरत रहनुभएका उहाँ नेपाली रेडियो नेटवर्कका निर्देशक समेत हुनुहुन्छ। पाल्पाको माथागढी गाउँपालिका अन्तर्गत पर्ने झँडेवाको रायमाझी परिवार सांगीतिकसँगै सामाजिक काममा समेत निष्ठावान परिवारका रूपमा चिनिन्छ ।