काठमाडौं । पछिल्लो २४ घण्ठा नवित्दै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ ।
उता रुपन्देहीका थप एकजना संक्रमितको मृत्यु भएको छ । झापा, उदयपुर र सिरहाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको गएराती मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ । यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको छ ।
ती पुरूषको बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पताल ब्यवस्थापक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको गए राति १० बजे मृत्यु भएको हो ।
उता रुपन्देहीका थप एकजना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।