काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रुपन्देहीको तिलोतमामा ५७ दशमलव ६ , पाल्पा अर्चलेमा ४९, मकवानपुरको मकवानपुरगढीमा ४१ दशमलव ६ २ मिलिमिटर वर्षा मापन भएको छ ।
आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने महाशाखाले जनाएको छ । सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ । ती क्षेत्रका २७ जिल्लामा भोलिदेखि धेरै वर्षा हुन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखिएको छ ।