काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी थिए । जसमध्ये एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन् । जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन् ।