काठमाडौं। शब्दाङ्कुर मासिक र वर्तमान कविता समूहको आयोजनामा 'छोटा कविता गोष्ठी' भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रारम्भमा विश्व वातावरण दिवसका अवसरमा आयोजित 'हरित काव्य गोष्ठी' मा वाचित कविताहरू समेटिएको शब्दाङ्कुर मासिकको विशेष अङ्कको विमोचन गरिएको छ।
विशेष अङ्क विमोचन कविता वाचनमा उपस्थित सम्पूर्ण कविहरुले गरेका थिए । विमोचनपछि छोटा, गहन र विचारोत्तेजक कविताहरू प्रस्तुत गरिएको यस गोष्ठीले साहित्यप्रेमीहरूको मन मुग्ध बनाएको थियो।
गोष्ठीमा प्रतिष्ठित कवि मञ्जुल, श्यामल, सुस्मिता नेपाल, मुरारी सिग्देल, प्रोल्लास सिन्धुलिया, अभय श्रेष्ठ, भारती न्यौपाने , विना नेम्कुललगायतका स्रष्टाहरूले क्रमशः आफ्ना उत्कृष्ट रचनाहरू सुनाए।
जीवन र जगतको विविध आयामलाई समेट्दै विष्णुकला राई, दिलकुमारी डंगोल, साकुचा, रमी प्रिया, ईश्वर थोकर, धीरकुमार श्रेष्ठ, टेकेन्द्र राज चेम्जोङ, जितेन्द्र रसिक, श्रीराम दाहाल, सन्जय सुमन, पुरुषोत्तम घिमिरे, विश्व सिग्देललगायतले पनि कविता सुनाएर उपस्थित श्रोताहरूलाई भावविभोर बनाए।
कार्यक्रमका संचालक चन्द्रबहादुर लामाले गोष्ठीलाई प्रभावकारी र आकर्षक बनाएका थिए। तल बगेको बाग्मती नदीको मधुर संगीत र रुखका टुप्पामा खेलिरहेका बाँदर र चरा-चुरुङ्गीको सुमधुर स्वरले गर्दा वातावरण अझै काव्यमय बनेको थियो।
