काठमाडौं । सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।
काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।
धार्मिक गुरुहरूले पछिल्लो समय सबै क्षेत्र खुलाउँदासमेत धार्मिक क्षेत्र बन्द राखेको भन्दै खुलाउन माग गर्दै आएका छन् । कोरोनाको जोखिम उच्च रहेको भन्दै नेपालीहरूका ठूला चाडपर्वमा समेत शक्तिपीठहरू सरकारले बन्द गरेको थियो ।