काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विवाद’ बारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना नेतृत्वको समितिले बुधवार काठमाडौंका प्रजिअ जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाएको हो ।
समितिमा डीएसपी गङ्गा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना सदस्य थिए । छानबिन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको अधिवक्ता सचितानन्द काफ्लेले बताउनुभयो ।
कृष्णमुर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि विवाद भएको थियो । साउन ३२ मा पशुपतिमा कोटीहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमुर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन् ।
तर, उहाँका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू गिरफ्तार गर्नबाट पछि हटेका थिए ।