काठमाडौं । २१ औँ निजामती सेवा दिवस आज शनिबार मनाइँदैछ।
तीन वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको छ।२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो।
प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने सन्तुष्ट छैनन्।प्रशासन तथा कानूनविद् काशीराज दाहालले अस्थिर राजनीति र कमजोर मनोबल भएको कर्मचारी प्रशासनले गर्दा नतिजामुखी निजामती प्रशासन बन्न नसकेको बताउनुभयो ।
उहाँका अनुसार मुलुकले संघीय शासनव्यवस्था कार्यान्वयन गरे पनि धेरै कर्मचारीले केन्द्रीकृत मानसिकतालाई नै आत्मसात् गरेकाले निजामती प्रशासन प्रभावकारी बन्न नसकेको हो।