काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज हिन्दु धर्मावलम्बीहरु महिलाहरुले मनाउँदैछन्। आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्। आरधनाले परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ। त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुले आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा पुजा अर्चना गरेका छन् ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधानसमेत छ ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रत बस्ने गरिएको धर्मशास्त्रीहरुको भनाइ छ । यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्।
विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। संस्कृति अध्येता प्राडा विणा पौडेलले शास्त्रमै उल्लेख भएको पर्व हरितालिका तीज रहेको बताउनुभएको छ। यो पर्व सामाजिक रुपमा बिस्तारै झाँगिदै गएको बताउनुभयो।
तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन्। बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।
तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।