Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै

  • शुक्रवार, भाद्र २१ २०८१

  • 891
    SHARES

  • आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै
    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदै छन् ।
     
    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।
     
    सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
     
    यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।
     
    धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । 
     
    व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधू पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।   
     
    ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उहाँले भन्नुभयो । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो । 
     
    श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तिजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरूले असल वर तथा  वधू प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान रहेको उहाँले बताउनुभयो । 
     
    नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तिज नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
     
    समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रविद्हरूको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तिजको व्रतको महत्त्व  छ ।
     
    व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तिजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तिजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।  
     
    पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।


    शुक्रवार, भाद्र २१ २०८१०६:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij