काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा २ जनाको मृत्यु भएको छ । घाइते थप १ बालकको पनि मृत्यु भएसंगै मृतकको संख्या २ पुगेको हो ।
विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।
बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए ।
घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो। उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।