काठमाडौं। पहिरोले दिनभर अवरुद्ध बनेको राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ। काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ स्थीत नागढुङ्गामा खसेको पहिरोले आज दिनभर यातायात प्रभावित भएको थियो ।
उक्त पहिरो हटाएर अहिले साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको प्रहरी वृत्त थानकोटले जनाएको छ। अहिले काठमाण्डौ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका गाडीलाई भित्र्याउन शुरू भएको छ।
गाडीको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। पानी परिरहँदा पहिरो पन्छाउने र खस्ने क्रम चलिरहेकाले आज बिहान साढे १० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो।
प्रहरी वृत्त थानकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताउनुभयो। तीनवटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।
नागढुङ्गा चोकबाट केही सय मिटर पर नाग मन्दिर नजिकै पहिरो खसेको हो। नागढुङ्गा प्रहरीले काठमाण्डौबाट जाने गाडी नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने गाडी ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन्। काठमाण्डौ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्।