Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

  • बुधवार, भाद्र ५ २०८१

  • 601
    SHARES

  • संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको छ ।
     
    मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 
     
    अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनलाई आग्रह गर्नुभएको थियो। त्यसलगत्तै मन्त्रालयले उहाँ नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।
     
    अब केन्द्रले हाल मन्त्रालयअन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात् मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।
     
    हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । 
     
    उहाँले केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गर्नुभयो ।
     
    केन्द्र प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठुलो जिम्मेवारी दिएको भन्दै खुसी प्रकट गर्नुभयो ।
     
    मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले सुरुवातमा १७ वटा सङ्घीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भए पछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताउनुभयो । 


    बुधवार, भाद्र ५ २०८१०२:४५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij