काठमाडौं। एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताउनुभयो । दुर्घटनास्थलमा आज बिहान पुग्दा पनि त्यस्तो देखिएको अधिकारीको भनाइ थियो ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालका धेरै वस्तु प्रयोग भइसकेको आयात हुने गरेको बताउनुभयो। हवाई सुरक्षका विषयमा सरकारनै गम्भीर नभएको उहाँको दाबी छ।
नेपाली कांग्रेसका सांसद डा. उदयशम्शेर राणाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नैतिकता आधारमा राजीनामा दिनुपर्ने दाबी गर्नुभयो । समिति वा तालुकदार मन्त्रालयको मन्त्रीले नै अधिकारीलाई अहिलेसम्म हटाइसक्नुपर्ने उहाँको दाबी थियो।
छानबिन समिति बनिसकेको बताउँदै उहाँले विदेशी चढेको हेकिलप्टर यो भूमिमा दुर्घटना हुनु दुर्भाग्य रहेको बताउनुभयो ।पूर्वपर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश जान नसकेको बताउनुभयो।
अहिलेसम्म ४१ वटा हेलिकप्टर दुर्घटना भएको बताउँदै उहाँले जाँचबुझ पछि मात्रै थाहा हुने तर्क गर्नुभयो। हवाई दुर्घटना नेपालीका लागि ठूलो अभिसाप रहेको उहाँको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन्। बुधबार नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनासहित ४५ वर्षको अवधिमा ४० वटा दुर्घटना हुँदा ९७ जनाले अकालमा ज्यान गुमाएका हुन्।
ज्यान गुमाउनेमा बहावलवालामन्त्री समेत छन्। २०७५ फागुनमा ताप्लेजुङको पाथीभरामा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।