गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । जिल्लाको बिसौना स्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर ६७ वर्षिय हुकुम बिक, उहाँका छोरा वर्ष ४६ का गोरे बिक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार केसीले बताउनुभएको छ।
त्यस्तै पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उहँकीे श्रीमती २३ वर्षकी मुना विक घाइते भएको इन्स्पेक्टर केसीले बताउनुभयो।
लगातारको वर्षापछि घरमाथीबाट लेदो सहितको पहिरोले मंगलबार बिहान दुईवटा घर पुरेको थियो ।
पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।