काठमाडौँ । मौलिक एवम् लोपोन्मुख बाजागाजासंगै भजन संस्कृतिको संरक्षणमा २०६७ साल देखि लागिरहेको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको काठमाडौं जिल्लाको प्रथम अधिबेशन तारकेश्वर नगरपालिकाको ॐकारेश्वर मन्दिर परिषरमा हिजो शनिबार सम्पन्न भएको छ।
वाग्मती प्रदेशका बाह्र ओटै जिल्लाका भजन प्रतिष्ठानका अध्यक्ष एबम प्रदेश भित्रका केन्द्रिय सदस्यहरुको आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो।
काठमाडौं जिल्ला भित्रका सबै एघार नगरपालिकाहरुबाट भेला भएका सयौँ प्रतिनिधिहरुको भेलाले तारकेश्वर नगरपालिकाका मुकुन्द घिमिरेको अध्यक्षतामा ३५सदस्यीय कार्यसमिति निर्बाचित गरेको छ।
खुल्ला उपाध्यक्षमा पाल्पाको रामपुर पुर्ख्यौली घर भई हाल चन्द्रगिरी नगरपालिका निवासी जनार्दन अधिकारी, महिला उपाध्यक्षमा गोकर्णेश्वर नगरपालिकाकी चन्द्रकला घिमिरे लगायत निर्बाचित हुनु भएको छ
भजन प्रतिष्ठानका केन्द्रिय सचिवालय सदस्य एबम वग्मती प्रदेशका इन्चार्ज चर्चित एवम् लोकप्रिय गायक नवीन पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।
उहाँले आफू खैँजडी, मजुरा, मृदंग, सारंगी, बाँसुरी, मादल, हार्मोनियम, तबला, झ्याम्टा, डम्फु लगायतका लोपोन्मुख तथा मौलिक गितसंगीत र वाजागाजा संरक्षणका लागि देशव्यापी अभियानमा रहेको जानकारी दिनु भएको थियो । उहाँका अनुसार प्रतिष्ठानको अहिलेसम्म ५२ जिल्लामा जिल्ला शाखा गठन गरिएको छ ।
काठमाडौं जिल्लाका उपाध्यक्ष धनराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा चन्द्रमणी गौतम र निर्वाचन मन्डलको संयोजक अधिवक्ता शम्भु नेपाल रहनु भएको थियो।सो अवसरमा विभिन्न भजन समुहरुले मौलिक भजनहरु प्रस्तुत गरेका थिए ।