काठमाडौं।गीतकार तथा सङ्गीतकार जानकी पन्थको ‘मै काट्छु बुढाका कुरा’बोलको तीज गीत सार्वजनिक भएको छ। विगत डेढ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी पन्थको शब्द तथा संगीतमा बजारमा ल्याइएको उक्त तीज गीतको म्युजिक भिडियो म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा चर्चित गायिका शान्तीश्री परियार नवगायक उदय अधिकारी, बिन्दु बिसि तथा भिम ब.पौडेलको स्वर सुन्न सकिन्छ । राकेश सोनिको संगीत संयोजन रहेको मै काट्छु बुढाका कुराको भिडियोमा समीर सुवेदी तथा सन्ध्या घतानी मुख्य भूमिकामा छन् भने कल्पना खत्री, भिम पौडेल साथमा बाल कलाकारहरु हृदया तथा आदित्यले पनि अभिनय गरेका छन् ।
भिडियोलाई सुरेश काफ्लेले निर्देशन गरेका हुन् भने भिडियोका छायांकार आर दुलाल हुन। विष्णु खड्काले सम्पादन गरेको यो गीतमा प्रविधिको दुरुपयोगले श्रीमान् श्रीमतीको सम्बन्धमा आउन सक्ने दुरी तथा त्यसको परिणाम लाई दुरुस्त देखाइएको छ।
गीतले समसामयिक हुनुको साथै समाजको यथार्थ चित्रण पनि गरेको छ। हरेक तीज गीतमा रमाइलो पाराले केही सन्देश दिन खोज्ने पन्थ यो पाली पनि चुकेकी छैनन्। सार्वजनिक भएको छोटो समयमा नै उनको गीतलाई दर्शक तथा श्रोताले अत्यन्तै मन पराएको पन्थको भनाइ छ।
पन्थका यसअघि सार्वजनिक भएका ओए बुढा, तम्घासबाट हिडेको गाडि, पल्लाघरे लाहुरेले लान्छ अरे बाइ, बबाल तीज लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडापारी घाम, लगायतका लोकदोहोरी गीतहरु निकै लोकप्रीय मानिन्छन्।
अघिल्लो वर्षको उनको तीज गीत “अब त चाहियो काठमाडौंमा घर“ ले पनि राम्रो चर्चा कमाएको थियो। एकल शब्द तथा सङ्गीतमा एल्वम निकाल्ने उनी नेपालकै पहिलो महिला समेत हुन् । वि.स. २०६८ सालमा प्रकाशित आधुनिक एल्वम “सङ्घार“ बाट उनले यो उपाधी प्राप्त गरेकी हुन्।
\