काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज उछाल आएको छ। साताको तेस्रो सेयर कारोबार दिन आज मंगलबार नेप्से दोहोरो अंक ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५ विन्दुमा पुगेको छ। नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ।
यसदिन ३२९ स्क्रिप्सको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए।सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।
नेप्से दोहोरो अंकले बढ्दा ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एसियन हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले गुमाए। यसदिन कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी शिवम् सिमेन्टले ३७ करोडको सेयर कारोबार गर्दा सोल्टी होटलले ३६ करोड,नेपाल फाइनान्सले ३५ करोड र चिलिमे हाइड्रोपावरले २७ करोड मूल्य बराबरको सेयर कारोबार गरे। चार समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।
बैंकिङ,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका हुन्।आज फाइनान्स र होटल एण्ड टुरिजम समूहको उपसूचक ५ प्रतिशत बढिले वृद्धि भयो। कारोबारमा आएका १८९ स्टकको मूल्य बढ्दा ४७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो।