काठमाडौं। गत बुधबार भएको सौर्य एयरको विमान दुर्घटनामा जोखिमपूर्ण अवस्थाबाट विमान चालक मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा भएको उक्त दुर्घटनाबाट पाइलट शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार प्रहरी नायब उपरीक्षक सुकदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।
साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्नेबित्तिकै खसेर दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो।