काठमाडौं । नेपालको हवाई क्षेत्र खतरामुक्त छैन भन्ने सन्देश बेलाबखतका दुर्घटनाहरूले पुष्टि गरिरहेको छ । २०७९ साल माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यति एअरलाइन्सको विमान दुर्घटना भयो । जसमा सवार ७२ जना यात्रुले ज्यान गुमाए । त्यसपछि ठूलो दुर्घटना भएको थिएन । पछिल्लो २४ वर्षको तथ्याङ्क हेर्ने हो भने हवाई दुर्घटनाबाट करिब ४१० जनाले ज्यान गुमाएका छन् । आज मात्रै बिहान ११ः११ बजे मर्मतका लागि पोखरा जाँदै गर्दा सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज दुर्घटनामा पर्यो । एरोनटिकल इन्जिनियर दीपकप्रसाद बास्तोलाका अनुसार मर्मतका लागि पोखरा लैजाँदै गर्दा चालक दलका सदस्यबाहेक धेरैलाई उडान भर्नु ठिक थिएन ।
जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै तल भुईँमा बजारिएको थियो । वरिष्ठ पाइलट केबी लिम्बुले आकाशमा द्रुत गतिले विमान उड्न नसक्दा दुर्घटनामा परेको हो ।
यता, सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले छानबिन समिति गठन गरेको हो । रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् । मन्त्रिपरिषद् बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।
सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।
मृत्यु हुनेमा सागर आचार्य (सेफ्टी प्रमुख), अश्विनकुमार निरौला (सीएएमओ म्यानेजर), दिलीप बर्मा (क्यूए प्रमुख), यज्ञराज पौडेल (मर्मत म्यानेजर), एस कटुवाल (को–पाइलट ), अमितमान महर्जन, सुदीपलाल जोशी छन् । त्यस्तै, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पून्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक) को पनि मृत्यु भएको छ ।