Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आज साउनको पहिलो सोमबार : शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड, यस्तो छ महिमा

आज साउनको पहिलो सोमबार : शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड, यस्तो छ महिमा

  • सोमवार, श्रावण ७ २०८१

  • 1.3K
    SHARES

  • आज साउनको पहिलो सोमबार : शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड, यस्तो छ महिमा
    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईंचो लागेको छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।
     
    काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिडलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत काम भइरहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
     
    साउनको सोमबार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । पशुपतिनाथका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिने भएको छ । 
     
    साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ । बोल बम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजन पनि साउनमा लाखौँ हुने गरेका छन् ।
     
    सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरू भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । 
     
    साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुभयो । 
     
    साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
     
    नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिको पूर्वअध्यक्षसमेत रहेका धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
     
    व्रत महिमा
     
    पुराणमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ। ती हुन् साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ।
     
    दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रत गरेको दिन बेलुका एकपटक सात्त्विक भोजन गर्नुपर्छ। यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ।
     
    शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन्।
     
     
    सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुईंचो लाग्ने गरेको छ।
     


    सोमवार, श्रावण ७ २०८१०७:०१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij