काठमाडौं। मुलिङ्ग नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशुलीमा बेपत्ता यात्रुमध्ये दुईजना यात्रुको शव भारतमा फेला परेको छ।
हिजो र आज भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेका प्रहरीले जनाएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई दिएको छ।
हालसम्म दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ। आज बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको र ती शवमध्ये १४ शवको मात्रै सनाखत भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
हालसम्म फेला परेका शवमध्ये आठ पुरूष र एक महिलाको सनाखत हुन बाँकी छ। गत शुक्रबार ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बससँगै ६२ जना यात्रु त्रिशुलीमा बेपत्ता भएका थिए। वेपक्ता बाँकी शव र यात्रुको खोजी कार्य अझै जारी छ।