काठमाडौं। पछिल्लो एक महिनाको अवधीमा देशभर परेको अविरल वर्षासँगै आएको बाढीपहिरो लगायतका विपदमा परी ७४ जनाको मृत्यु भएको छ। नेपाली प्रहरीले आज जारी गरेको बुलेटिनमा गत जेठ २८ गतेदेखि आजसम्म ७४ जनाको मृत्यु भएको उल्लेख छ।
बाढीपहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो।
साथै काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। साथै कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक गरी पाँच जना बेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।
बाढीका कारण जम्मा एक सय ६१ घर डुबानमा परेका छन्। ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। तीन सय ३५ वटा पशु चौपाया मरेको छ। उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका छन्।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ।