Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

देशैभर बर्षाले मच्चायो वितण्डा, जनजिवन नै प्रभावित, सचेतना अपनाउन सरकारको अपिल (खासखबर)

देशैभर बर्षाले मच्चायो वितण्डा, जनजिवन नै प्रभावित, सचेतना अपनाउन सरकारको अपिल (खासखबर)

  • शनिवार, आषाढ २२ २०८१

  • 790
    SHARES

  • देशैभर बर्षाले मच्चायो वितण्डा, जनजिवन नै प्रभावित, सचेतना अपनाउन सरकारको अपिल (खासखबर)

    काठमाडौं। देशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ। गएरातीदेखि नै परेको लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। यो बर्ष बढि पानी पर्ने र क्षति पनि धेरै हुने आँकलन यसअघि नै गरिएको छ ।

    पूर्वदेखि पश्चिमसम्म नै धेरै ठाउँमा पानी परेको छ। लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलामा बाढी आएको छ केहिको मृत्यु भएको छ भने केहि बेपत्ता भएका छन्। नदि किनारमा,बस्तीहरुमा बाढि पसेर तथा पहिरोले घर पुरिदा जनधनको क्षति भएको छ।

    लगातारको बर्षाले केहि सडक अवरुद्ध छन् भने हवाई यात्रा पनि सहज हुन सकिरहेको छैन । आज राति पनि वर्षा हुुने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्। जल तथा मौसम विज्ञान विभागले असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान पनि गरेको थियो ।

    साथै ३० जिल्ला उच्च जोखिममा रहेको संकेत स्वरुप ‘रेड जोन’मा पनि राखिएको छ। पुर्वतयारी अपनाएका कारण गृह मन्त्रालयले घटनाहरुको तुलनामा क्षति कम भएको जनाएको छ। पुर्व सुचनाको व्यवस्थापन राम्रो भएको गृहले जनाएको छ ।

    देशभरका सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिती तथा उद्धार टोलीहरु तदारुकताका साथ खटेको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सवै निकायहरुको समन्वयमा काम भईरहेको छ ।

    झरी निरन्तर परिरहेकाले नदि किनारामा हुनेहरु सुरक्षित स्थानमा जान र मौसम खराव भएका बेला अति आवश्यक परे भन्दा बाहेक यात्रा नगर्न पनि गृहमन्त्रालयले अनुरोध गरेको छ। अविरल बर्षाका बेला धेरै जोखिम नमोल्न र सावधानी अपनाउन महाशाखा प्रमुख भूसाल सवैमा आग्रह गर्नुहुन्छ।

    त्यसो त मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

    जलवायु विज्ञ डा धर्म उप्रेतीका अनुसार असोज सम्म औषद भन्दा बढि पानी पर्ने छ। नदि किनारामा रहेका बस्तीहरु, भौतिक पूर्वाधार, विद्युत उर्जाका संरचना, खानेपानी लगायतका क्षेत्रमा बढि प्रभाव परि क्षति हुनेछ। अव आउने तिन महिनामा बढि पानी पर्ने र क्षति पनि धेरै हुने उहाँको आँकलन छ।

    यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतारचढाव जस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनु भएको छ ।

    मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक बिपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिनुभएको हो ।

    गृह मन्त्रालयले बाढि सतह बढ्नु भन्दा पहिले अस्थायी रुपमा बस्ने सुरक्षित ठाँउ स्थानीय सरकारले व्यवस्था गरेको जनाएको छ। सुरक्षित आश्रय स्थलका लागि पालीकाहरुमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

    राहत उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन रहेको र घटना घट्ने वित्तिकै प्रहरीसहितको स्थानिय प्रशासनको संयन्त्र घटनास्थल पुग्ने पनि जनाईएको छ। सवैलाई जोखिम नमोल्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसैले विपद्का बेला सवै सजग र सतर्क बनौं ।


    शनिवार, आषाढ २२ २०८१०८:१०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij