काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा लगातार भारी वर्षा भइरहेको छ ।
हिजोदेखि नै लगातार वर्षाको कारण भिरालो र पहाडी क्षेत्रमा बाढीपहिरो उच्च जोखिम देखिएको छ । यो वर्ष औषतभन्दा धेरै वषा हुने मौसमविद्ले बताइसकेका छन् । आज दिनभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमाभारीदेखि अति वर्षाको पनि सम्भावना छ।
भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेको महाशाखाले जनाएको छ।
यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।