काठमाडौं। आज देशका धेरै ठाउँमा वर्ष भैरहेको परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी नै आएको छ।
यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले दुधौरा, पसाह, लाल बकैया लगायत क्षेत्र भई बहने अरू खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
उदयपुको सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेकाले त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ।
यसैबीच मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो।
मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ। बिहीवारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ ।