काठमाडौं । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने प्रचलन पनि छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । धान नेपालको प्रमुख बाली र खाद्यान्नको पहिलो हिस्सा भएकोले आजको दिन महत्त्वपूर्ण रहेको कृषि वैज्ञानिक रामबहादुर केसीको भनाइ छ ।
नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । यो प्रदेशको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यसबाहेक लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिँदा गण्डकीमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ । यसबाहेक कोशी प्रदेशमा ५.६ प्रतिशत भूभागमा र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताइएको छ । पूर्व कृषि मन्त्री हरिबोल गजुरेलका अनुसार कृषि सरकारको प्राथमिकतामा पर्न सकेको छैन । आशा जगाउने कामको सुरुवात भएपनि विश्वास छैन ।
विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको दृष्टान्त छ । सांसद ईश्वरी न्यौपानेले आजको दिन किसानका लागि महत्त्वपूर्ण भएपनि सरकारले एक दिन तामझाम गरेर नपुग्ने बताउनुभयो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।