काठमाडौं। सर्लाहीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकि राखेको लहरीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले उनिहरु तीनजनालाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
बसमा ४० जना सवार रहेका थिए । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।