काठमाडौं। त्रिभूवन विश्वविद्यालय अन्तर्गतको प्राध्यापक संघको निर्वाचनमा सक्रिय सहभागीता जनाउन प्राध्यापकहरुका संगठनहरुले आह्वान गरेका छन्। यही असार ७ र ८ गते हुने तय भएको निर्वाचनलाई निःश्पक्ष र स्वतन्त्रपुर्वक सम्पन्न गर्न पनि संगठनका नेताहरुले आग्रह गरेका छन्।
संगठनहरुको तर्फबाट संयुक्त रुपमा जारी वक्तव्यमा लेखिएको छ,“उच्च शिक्षा विधेयक पुनर्लेखन गर्न तथा ओझेलमा परेका प्राध्यापकका एजेन्डाहरु समाधान गर्न विश्वविद्यालयहरूको साझा फोरम एवम् विश्वविद्यालय र प्राध्यापकको सेतुका रूपमा रहेको प्राध्यापक सङ्घलाई थप सशक्त बनाइ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघमा नयाँ नेतृत्व ल्याउनु वर्तमान समयको माग हो। त्यसैले समयमै प्रजातान्त्रिक तरिकाले चुनाव होस् र वर्तमान समस्याको समाधान गर्ने नेतृत्व आओस् ।”
प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष सह प्राध्यापक जगत तिमिल्सीना, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. बेदराज केसी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारी, एकिकृत प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा गोविन्द सुवेदी, लोकतान्त्रीक प्राध्यापक संघका अध्यक्ष डा. उदयकिशोर तिवारी र समाजवादी प्राध्यापक संघका महासचिव डा. नरेन्द्र कुमार सिंहले संयुक्त रुपमा वक्तव्य प्रकाशित गर्नु भएको हो ।
वक्तव्यमा विश्वविद्यालयका पदाधिकारीले मनोमानी रूपमा विश्वविद्यालयकालाई तदर्थवाद र यथास्थितिमा चलाउन विविध रूपमा क्रियाशील रहेको अवस्थामा आधिकारिक संस्थाको निर्वाचन अपरिहार्य भएको उल्लेख गरिएको छ ।