काठमाडौं । विश्वभरका पत्रकारहरुको साझा संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल बेलायत प्रस्थान गर्नु भएको छ ।
सोमबार भोलिदेखि ५ दिनसम्म चल्ने साधारण सभाका लागि उहाँ शनिबार त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।
साधारण सभामा नेपाल सहित १४० देशका पत्रकारका संगठनका प्रतिनिधिहरु सहभागी हुन लागेका छन् । नेपालबाट नेपाल प्रेस युनियनले मात्रै सहभागीता जनाउन पाएको हो ।अन्तर्राष्ट्रिय पत्रकार महासंघमा नेपालबाट सदस्यता पाउने नेपाल प्रेस युनियन सबैभन्दा पहिलो संगठन हो भने निरन्तरता दिने पनि नेपाल प्रेस युनियन मात्रै भएको छ । युनियनभन्दा धेरै पहिला स्थापना भएको नेपाल पत्रकार महासंघले युनियनले भन्दा पछि सदस्यता पाएको थियो ।
नेपालमा नेपाल प्रेस युनियनलाई नेपाली कांग्रेसको सुवेच्छुक संगठनका रुपमा बुझिएपनि अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई श्रमजिवि पत्रकारहरुको नेपालको एक मात्र स्वतन्त्र संगठनको रुपमा चिनिन्छ ।
नेपालको श्रम विभागमा दर्ता भई सधैँ श्रमजिवि र लोकतन्त्रको पक्षमा उभिने, पार्टीसँंगको प्रत्यक्ष संलग्नता नदेखिने र अन्तर्राष्ट्रिय पत्रकार महासंघको मुल्य मान्यतालाई कायम गर्न सकेकाले युनियनको सदस्यतालाई महासंघले निरन्तरता दिएको हो ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)मा संसारभरीका छ लाखभन्दा बढी पत्रकारहरु आवद्ध छन् । महासंघ संसारभरका पत्रकारहरूको ट्रेड युनियनहरूको सबैभन्दा ठूलो विश्वव्यापी संगठन हो । यसले सन् १९५३ देखि नै संयुक्त राष्ट्रसंघमा पत्रकारहरुको प्रतिनिधित्व गर्दै आएको छ भने युनेस्कोको सहयोगी सदस्य संगठन हो ।
महासंघको साधारण सभाका लागि युनियनका अध्यक्ष लम्साल बैदेशिक भ्रमणमा रहेका बेला युनियनको कार्यवहाक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई दिइएको छ ।