काठमाडौं । बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याप्रति नेपाल पब्लिक क्याम्पस संघले आपत्ति जनाएको छ । यस्ता आततायी घटनाको घोर भत्सर्ना गर्दै संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ता हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहान्छौँ ।’ संघले मृतात्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनेको छ । नेपाल पब्लिक क्याम्पस संघले आफ्ना सदस्य क्याम्पसहरुलाई भोलि १ दिनका लागि पठनपाठन बन्द गर्न आह्वान गरेको छ ।
बाराको कलैयास्थित आदर्श कोतवाल गाउँपालिका खजुरियास्थित घरबाट कलैयातर्फ जाँदै गर्दा मोटरसाईकलमा सवार अज्ञात समूहले गोली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाको हत्या गरेको प्रहरीले जनाएको छ ।
कुशवाहा शुक्रबार बिहान आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर जानुभएको थियो । घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने स्थानमा अज्ञात समूहले उहाँमाथि गोली प्रहार भएको हो ।
बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कुशवाहाको पिठ्यउँमा दुई राउण्ड गोली लागेको थियो ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
