काठमाडौं । डबिङ गरेको विज्ञापन प्रसारण गर्ने सञ्चारमाध्यमलाई सरकारले कारबाहीको तयारी गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र नेपालका सञ्चारमाध्यमले पनि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने व्यवस्था छ । यो ऐन गत कात्तिक ८ देखि कार्यान्वयनमा आएको छ ।
ऐनको व्यवस्थाअनुसार विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्नेलाई ऐनको व्यवस्थाअनुसार नै कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताउनुभयो । मन्त्रालयको प्राविधिक टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको र डबिङ गरेर विज्ञापन प्रसारण गर्नेलाई कारबाही हुने जानकारी पनि गराइसकेका उहाँको भनाइ छ ।
ऐनको दफा २५ को कसुर र सजायमा दफा ६ बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
ऐनको दफा ६ को १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले क्लिनफिड प्रसारण गर्नुपर्नेछ । साथै, ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले पुनः प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने भनेको छ ।