काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।
योसँगै कोलकाताले आईपीएलको उपाधि तेस्रो पटक हात पार्न सफल भएको छ। यसअघि २०१२ र २०१४ मा कोलकाताले उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।
हैदरावादले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाएपनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भएका थिए ।
गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे । प्रतियोगितामा हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १/१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो । टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे ।
कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए ।
कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २(२ विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १/१ विकेट हात पारे ।