काठमाडौ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला भएको छ। नेपाल–चीनको सिमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो।
लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए। लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन्।
उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन्। उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन्।
गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो। चीनतर्फबाट तयारी पूरा गरेर आज नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ।
नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिऊ प्रवेश गरेका हुन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन्।