काठमाडाौं । नागरिकता कीर्तेसम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अहिले धनुषा प्रहरीको नियन्त्रणमा छन् ।
धनुषा जिल्ला अदालतले सिरोहियालाई उनकै मिडिया हाउसको केन्द्रीय कार्यालय थापाथलीबाट मंगलवार साँझ पक्राउ गरेको थियो । सोही राति उनलाई प्रहरीले जनकपुरधाम ल्यायो ।
बुधवार धनुषा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतबाट अनुमति माग्यो । जिल्ला सरकारी वकिल कार्यालयले ५ दिनको म्याद थप्न सिफारिस गरेकोमा अदालतले तीन दिनको म्याद दियो ।
प्रहरीले अनुसन्धान नसकेको भन्दै सिरोहियालाई आज पुनः अदालतमा पेश गरेर म्याद थप्न माग गरेको छ । तर सिरोहियालाई हिरासतमुक्त गराउन ७ वरिष्ठ अधिवक्ता र ५ अधिवक्ताले आज बहस गर्ने भएका छन् ।
सिरोहियालाई छाड्न सरकारलाई दबाब दिन जनकपुरमा नागरिक समाज र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू पटक पटक प्रदर्शन गरेका छन् । जनकपुरधामका मेयर मनोज साह अदालतकै अगाडि धर्ना बसेका छन् ।
वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू पनि आज सिरोहियालाई छुटाउन हर सम्भव प्रयास गर्ने देखिन्छन् । सिरोहियाको पक्षमा वकालत गर्न चर्चित वरिष्ठ अधिवक्ता शम्भु थापा काठमाडौंबाट जनकपुरधाम आएका हुन् ।